नेपालको ७ वटा प्रदेश मध्ये मधेश प्रदेशको ८ जिल्ला मध्ये रौतहट पनि एक हो । यस जिल्लाको सिमाना पूर्वमा बागमती नदी (सर्लाही जिल्ला), पश्चिममा धरहर र बकैया खोला (बारा जिल्ला), उत्तरमा चुरे पहाडको पानी ढलो (मकवानपुर जिल्ला) र दक्षिणमा नेपाल भारतको अन्तर्राष्ट्रिय सिमाना (भारतको बिहार राज्य) रहेको छ । रौतहट जिल्ला ८५°१४' देखि ८५°३०' पूर्वी देशान्तर तथा २६°४४' देखि २७°१४' उत्तरी अक्षांशमा फैलिएको पाइन्छ । यस जिल्लाको कुल क्षेत्रफल १०३६५६ हेक्टर रहेको छ, जसमा ३०७७७ हेक्टर वा २९.०५% भू-भाग वन क्षेत्रले ढाकेको पाइन्छ । जिल्लालाई पूर्वमा बागमती नदी, पश्चिममा बारा जिल्लाको सिमाना हुँदै धरहर खोला, उत्तरमा मकवानपुर जिल्लाको सिमानामा पर्ने चुरे पहाडको दक्षिणी मोहडाको पानीढलो र दक्षिणतर्फ नेपाल भारत अन्तर्राष्ट्रिय सिमानाले छुाएको पाइन्छ । उचाई (Altitude) समुद्री सतहबाट ९० मिटर देखि २९० मिटर सम्मको भू-भाग तराई तथा भावर क्षेत्रमा फैलिएको छ, तर चुरे पहाडको भू-भाग ७९२ मिटर सम्मको उचाईमा फैलिएको छ ।

डिभिजन वन कार्यालय, रौतहटको पछिल्लो तथ्यांक अनुसार जिल्लाको कुल क्षेत्रफल १०३६५६ हेक्टर मध्ये वनको क्षेत्रफल ३०७७७ हेक्टर रहेको छ । साथै यस जिल्लामा ३७७०३२ घरधुरीका ६३५७३७ मानिसहरु बस्छन् । औसत परिवार संख्या ५.१४ रहेको छ । डि.ब.का. रौतहट, २०८१/०८/२० को तथ्यांक अनुसार जिल्लाको कुल वनक्षेत्रको हस्तान्तरण ४३ वटा सामुदायिक वनले कुल ५८७५.९३ हेक्टर क्षेत्रफल ओगटेको छ भने ३ वटा साझेदारी वनले ११,१२७.७७ हे. क्षेत्रफल तथा ४ वटा धार्मिक वनले ५१.७३ हे. क्षेत्रफल ओगटेको छ । साथै यस जिल्लाको १०५२.२२ हेक्टर वनक्षेत्र धरहर ब्लक फरेष्टको रुपमा रहेको छ ।