बाघ संरक्षणसम्बन्धी सन्चारकर्मीसंग अन्तरक्रिया सम्पन्न

रौतहट डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहले बाघ संरक्षणका लागि सबै तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ।
आइतबार चन्द्रनिगाहपुरमा सञ्चारकर्मीहरूलाई लक्षित गरी आयोजना गरिएको “बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरण” सम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै उहाँले बाघप्रति सकारात्मक सोच विकास भए मात्रै यसको दीगो संरक्षण सम्भव हुने धारणा राख्नुभयो।

उहाँका अनुसार बाघको उपस्थितिले जंगलको प्राकृतिक सुन्दरता र जैविक विविधताको संकेत गर्ने भएकाले बाघमाथि हिंसा वा शत्रुतापूर्ण व्यवहार गर्नु उपयुक्त नहुने बताउनुभयो।

डिभिजन वन प्रमुख साहले रौतहटका विभिन्न वन क्षेत्रमा बाघ देखिने गरेको जानकारी दिँदै जिल्लामा लोपोन्मुख पाटे बाघको समेत बसोबास रहेको उल्लेख गर्नुभयो। उहाँले लमाहा नदी आसपासका वन क्षेत्र, धन्सार, हातेमालो सामुदायिक वन, रंगपुर साझेदारी वनको सतियारी क्षेत्र, गैडाटार, बागमतीको जुडिबेला तथा पौराइ, रामलाल बृन्दावन साझेदारी वन र फतुवा विजयपुरस्थित नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको गतिविधि देखिने गरेको बताउनुभयो।

बाघले मुख्य रूपमा जरायो, चित्तल, बँदेल र बाह्रसिंगा जस्ता वन्यजन्तुलाई आहाराका रूपमा प्रयोग गर्ने जानकारी दिँदै उहाँले नेपालभर हाल करिब ३ सय ५५ वटा बाघ रहेको उल्लेख गर्नुभयो। रौतहटमा समेत बाघ गणनाको कार्य भइरहेको र केही समयपछि वास्तविक संख्या सार्वजनिक हुने उहाँको भनाइ थियो।

कार्यक्रममा साहले पाटे बाघको शारीरिक बनावट, बानी–व्यवहार, आहारा, बासस्थान तथा आक्रमण गर्ने प्रकृतिबारे जानकारी गराउनुभयो। सामान्य अवस्थामा बाघ मानिसबाट टाढा रहन चाहने जनावर भए पनि आत्मरक्षा वा आफ्ना बच्चाको सुरक्षाका लागि आक्रमण गर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो।

उहाँले बाघ संरक्षणका चुनौती, यसको महत्व तथा रौतहटमा बाघको वर्तमान अवस्थाबारे समेत विस्तृत जानकारी दिनुभएको थियो।

-प्रतिरक्षा सम्वाददाता